काठमाडौँ । प्रतिकूल मौसमका कारण स्थगित भएको धौलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएपछि पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेको हो ।
समुद्र सतहबाट ८ हजार १६७ मिटर उचाइमा रहेको धौलागिरि विश्वको सातौँ अग्लो हिमाल हो । यो म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी क्षेत्रमा अवस्थित छ ।
सेभेन समिट टेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथिसम्म पुगेको छ ।
उनका अनुसार प्रतिकूल मौसमका कारण कम्पनीका नेपाली तथा विदेशी गरी १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी असोज ८ गते पोखरा ल्याइएको थियो । मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट प्रस्थान गरेको टोली पुनः आधार शिविर पुगेर आरोहणमा जुटेको हो ।
भारी हिमपातपछि आरोहण स्थगित
असोज ८ देखि ११ गतेसम्म लगातार वर्षा र भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएको थियो । त्यसपछि पर्वतारोहीको टोलीले आरोहण स्थगित गरी फर्किएको थियो ।
मौसम अनुकूल बनेपछि आधार शिविरमा रहेको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेर यात्रा पुनः सुरु गरेको आरोहण टोलीका प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार अहिले हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न केही अनुकूल भएको छ । भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि तुलनात्मक रूपमा कम भएको उनले बताएका छन् ।
३६ जनाले लिए आरोहण अनुमति
पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीका अनुसार चालु शरदयाममा धौलागिरि आरोहणका लागि चार समूहका ३६ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा २६ पुरुष र १० महिला छन् ।
विभागका अनुसार आरोहण अनुमतिबापत ८२ लाख ४२ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । पर्वतारोहीलाई समन्वय गर्दै आएका म्याग्दीको दाना निवासी व्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका आरोहण टोली पनि आधार शिविर पुगिसकेको जानकारी दिएका छन् ।
गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए ।
चुनौतीपूर्ण आरोहण गन्तव्य
मौसममा छिनछिनमै परिवर्तन भइरहनु धौलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहण कठिन, जोखिमपूर्ण र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली संयुक्त आरोहण दलले पहिलोपटक धौलागिरिको चुचुरोमा पाइला राखेको थियो । त्यसयता आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही शिखरमा पुगिसकेको विवरण छ ।
धौलागिरि हिमाल आरोहणका अतिरिक्त यहाँ ‘राउन्ड धौलागिरि’ पदयात्रा पनि लोकप्रिय छ । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धौलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फा पुगेर यो पदयात्रा करिब नौ दिनमा पूरा गरिन्छ ।








