काठमाडौं । नेपाली व्यावसायिक गल्फर सुवास तामाङ प्रतिष्ठित डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन्। उनले भारतमा बिहीबारदेखि सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली गल्फमा नयाँ इतिहास रच्नेछन्।
डीपी वर्ल्ड टुर र डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १५ देखि १८ सम्म नयाँदिल्लीस्थित दिल्ली गल्फ क्लबमा सञ्चालन हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख अमेरिकी डलर रहेको छ।
सुवासले कपिल देव इन्भिटेसनल टुर च्याम्पियनसिपपछि ‘रेस टु डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप’ वरीयतामा २३औँ स्थान हासिल गर्दै प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्। ग्रेटर नोएडास्थित जेपी ग्रीन्स गल्फ एन्ड स्पा रिसोर्टमा सम्पन्न उक्त प्रतियोगितापछि वरीयताका शीर्ष २४ खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए।
यस सिजन भारतीय व्यावसायिक गल्फ टुरका १७ प्रतियोगितामा सहभागी भएका सुवासले १४ प्रतियोगितामा कट पार गरेका छन्। उनले दुई प्रतियोगितामा शीर्ष १० भित्र स्थान बनाउँदै हालसम्म २५ लाख ९३ हजार भारतीय रुपैयाँ पुरस्कार जितिसकेका छन्।
पीजीटीआईबाट छनोट भएका २४ खेलाडीमध्ये २१ जना भारतीय व्यावसायिक गल्फर छन्। सुवाससँगै बंगलादेशका जमाल होसेन र चेक गणतन्त्रका स्टेपन डानेक पनि प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडी हुन्।
डीपी वर्ल्ड टुरले सार्वजनिक गरेको भिडियोमा सुवासले प्रतियोगितामा खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन्। ‘डीपी वर्ल्ड टुरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाउँदा म निकै खुसी छु। आफ्नो देशको प्रतिनिधित्व गर्दै यहाँ खेल्न पाउनु उत्साहजनक छ,’ उनले भनेका छन्।
सन् १९७२ देखि सञ्चालन हुँदै आएको डीपी वर्ल्ड टुरमा नेपालको सहभागितासँगै नेपाल यस प्रतियोगितामा प्रतिनिधित्व गर्ने १२०औँ राष्ट्र बन्ने जनाइएको छ। यसै सिजन रुवान्डा, बुल्गेरिया र डोमिनिकन रिपब्लिकका गल्फरले पनि पहिलो पटक टुरमा सहभागिता जनाएका छन्।
सुवासले यसअघि एमेच्योर गल्फमा समेत उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। उनी विश्व एमेच्योर गल्फ वरीयताको शीर्ष १०० मा पुग्ने पहिलो नेपाली गल्फर हुन्। डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा उनको सहभागितालाई नेपाली गल्फको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।








