काठमाडौं । डोल्पामा अवैध रूपमा संकलन गरी लुकाएर राखिएको १ हजार २२५ किलोग्राम जटामसीसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको काइके गाउँपालिका–१ स्थित लैनीको जंगलमा अवैध रूपमा जडीबुटी संकलन गरी लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले जटामसी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार पक्राउ पर्नेमा काइके गाउँपालिका–१, खानीका २४ वर्षीय अर्जुन बुढाथोकी रहेका छन्।
प्रहरी टोलीले ४९ बोरामा राखिएको अवस्थामा जटामसी बरामद गरेको जनाएको छ। पक्राउ परेका बुढाथोकीलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय डोल्पामा बुझाइएको प्रहरीले जनाएको छ।








