काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका छन्।

भारतको नयाँ दिल्लीमा सोमबार सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा उनले हिमालदेखि समुद्रसम्म परिचालन गर्न सकिने संयुक्त कार्यदल गठन गर्नुपर्ने बताएका हुन्।

बैठकमा गुरुङले पछिल्लो दुई महिनामा नेपालले भोटेकोशी, मनाङ–मुस्ताङ र गोरखाको बूढीगण्डकी क्षेत्रमा भोगेका बाढीका घटनाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको उल्लेख गरे। उनले जलवायु परिवर्तनबाट सिर्जित विपद्को प्रभावकारी सामना गर्न क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माण गर्नुपर्नेमा जोड दिए।

गृह मन्त्रालयका अनुसार बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धतासहित दिल्ली घोषणापत्र जारी गरेको छ।

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह र साइबर अपराधलाई क्षेत्रीय सुरक्षाका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। यी अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान, प्रविधि तथा अनुभवको साझेदारी र समन्वित प्रतिकार्य आवश्यक रहेको उनको भनाइ थियो।

अपराध नियन्त्रणसम्बन्धी नीति, योजना र घोषणाको प्रभावकारी कार्यान्वयनमा पनि उनले जोड दिएका थिए। बिमस्टेक स्थापना भएको २९ वर्षपछि पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना भएको गृह मन्त्रालयले जनाएको छ।

भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता

बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल र भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय तथा सहकार्य बढाउनेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

भेटमा गुरुङले नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा प्रवेश गर्दा भोग्नुपरेका प्राविधिक समस्याबारे पनि ध्यानाकर्षण गराएका थिए। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियासम्बन्धी समस्याबारे उनले कुरा उठाएका थिए।

गृह मन्त्रालयका अनुसार उक्त विषयमा भारतीय गृहमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिएका थिए।

बैठक आयोजना गरेको भारत सरकार, भारतीय गृहमन्त्री शाह र बिमस्टेक सचिवालयप्रति गुरुङले आभार व्यक्त गरेका छन्। बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय