काठमाडौं । यमनमा चर्किंदो द्वन्द्वका कारण करिब ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ।

युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले द्वन्द्व प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको डब्लूएफपीले जनाएको छ।

कार्यक्रमका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा खाद्य संकट सबैभन्दा गम्भीर बनेको छ। त्यहाँ जारी द्वन्द्व र सडक बन्द हुने जोखिमका कारण हजारौँ विस्थापित परिवार बसोबास गर्ने क्षेत्रमा राहतकर्मीको पहुँच अवरुद्ध भएको छ।

ताइजमा मात्रै ६ लाखभन्दा बढी मानिस खाद्य सहायताबाट वञ्चित भएका छन्। उनीहरूमध्ये करिब दुई लाख महिला तथा बालबालिका रहेको डब्लूएफपीले जनाएको छ। यमनको पश्चिमी तटीय क्षेत्रमा समेत पछिल्लो समय राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ।

खाद्य संकट प्रभावित क्षेत्रमा पिठोको मौज्दात सकिन थालेको र स्थानीय बजारमा खाद्यान्नको उपलब्धता घट्दै गएको छ। यसले त्यहाँको मानवीय संकट थप गम्भीर बन्ने जोखिम बढाएको छ।

डब्लूएफपीका अनुसार यमनभर १ करोड ८० लाखभन्दा बढी मानिससँग पर्याप्त खाना छैन। पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात भएको कार्यक्रमले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय