काठमाडौँ । रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेपछि करिब ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्धविरामको उल्लङ्घन गर्दै रुसले आक्रमण गरेको आरोप लगाएका छन्।

फ्रान्सेली सञ्चारमाध्यम ले मोन्दका अनुसार बुधबार भएको आक्रमणमा राजधानी किएभ, आसपासका क्षेत्र तथा खार्किभ क्षेत्रका ऊर्जा र सञ्चार पूर्वाधारलाई निशाना बनाइएको थियो।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुसी ब्यालिस्टिक क्षेप्यास्त्रले ऊर्जा पूर्वाधारमा प्रहार गरेको जानकारी दिएका छन्। ती संरचना अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ऊर्जा युद्धविरामको दायराभित्र पर्ने उनको दाबी छ। उनले आक्रमणको प्रकृति र स्तरले अमेरिकाप्रति रुसको असम्मान देखाएको आरोपसमेत लगाएका छन्।

यता, रुसी रक्षा मन्त्रालयले रातभर युक्रेनका ऊर्जा तथा सञ्चार पूर्वाधारमा व्यापक आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार ती संरचनाहरू सैन्य प्रयोजनमा प्रयोग भइरहेका थिए।

यसैबीच, रुसले रातभर युक्रेनका ९०२ वटा ड्रोन खसालेको दाबी गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार राजधानी मस्कोतर्फ आइरहेका १८० वटा ड्रोन नष्ट गरिएका थिए।

ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलहरूको सञ्चालनसमेत प्रभावित भएको बताइएको छ। विमानस्थल अधिकारीहरूका अनुसार भनुकोभो विमानस्थलमा आठ घण्टाभन्दा बढी समय उडान रोकिएको थियो।

ऊर्जा युद्धविरामको घोषणापछि पनि दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण जारी रहँदा रुस–युक्रेन युद्धमा तनाव थप बढेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय