काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २१.३२ अंकले बढेर बन्द भएको छ। यससँगै नेप्से २ हजार ६२१.२५ विन्दुमा पुगेको छ।
सोमबार ४ अंक र मंगलबार ४.१२ अंकले बढेको बजारले बुधबार थप गति लिएको हो। यद्यपि, बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकामा बुधबार ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँमा सीमित भयो।
बुधबार ३५४ कम्पनीका १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच भए। कारोबारमा आएका कम्पनीमध्ये १८८ वटाको मूल्य बढ्दा ८० वटाको घट्यो भने ९ वटाको मूल्य स्थिर रह्यो।
१०.७५ प्रतिशत एसबीआई डिबेन्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो। अर्कोतर्फ, सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ६.३२ प्रतिशतले घट्यो।
बुधबार कारोबारमा आएका १३ वटै समूहका उपसूचक सकारात्मक रहे। बैंकिङ, विकास बैंक र निर्जीवन बिमा समूहको उपसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।








