चितवन । चितवनमा ट्रकबाट १३६ किलो ५०० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–४ पान्द्राङका २७ वर्षीय रञ्जित सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले बुधबार बिहान भरतपुर महानगरपालिका–२९ जुगेडीमा काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रक जाँच गर्ने क्रममा १० वटा पोकामा राखिएको गाँजा फेला पारेको हो।
प्रहरीले गाँजा र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।








