काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीका लागि तालिम र परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ।
पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुसार लिडरसिप एकेडेमीको तालिम तथा परीक्षा उत्तीर्ण नगर्ने व्यक्ति उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
उम्मेदवार छनोटको कुल मूल्याङ्कनमा लिडरसिप एकेडेमीको परीक्षालाई २५ प्रतिशत भाराङ्क दिइएको छ। क्यान्डिडेट क्लबमार्फत आवेदन दिने आकांक्षीका लागि यो प्रारम्भिक तथा महत्त्वपूर्ण चरण हुनेछ। परीक्षामा निर्धारित न्यूनतम मापदण्ड पूरा गर्नेहरू मात्र छनोटको अर्को चरणमा प्रवेश पाउनेछन्।
रास्वपाको रूपरेखाअनुसार एकेडेमीले वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीलाई स्थानीय सुशासन, कानुन, प्रविधि र विकाससम्बन्धी १० वटा साझा विषयमा प्रशिक्षण दिनेछ।
प्रशिक्षणमा पार्टीको राजनीतिक दर्शन, संविधान तथा संघीयता, स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक वित्त, डिजिटल साक्षरता तथा ई–गभर्नेन्स, स्थानीय आर्थिक विकास, शिक्षा र स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, खुला सरकार तथा चुनावी अभियान व्यवस्थापनजस्ता विषय समेटिनेछन्।
साझा प्रशिक्षणपछि उम्मेदवारी दिन चाहेको पदअनुसार छुट्टाछुट्टै कार्यशाला पनि सञ्चालन गरिने पार्टीले जनाएको छ। वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीलाई व्यक्तिगत घटना दर्ता, योजना तर्जुमा र मेलमिलापसम्बन्धी प्रशिक्षण दिइनेछ।
त्यस्तै, प्रमुख तथा उपप्रमुखका आकांक्षीलाई न्यायिक समिति, राजस्व परामर्श, बजेट तर्जुमा र कार्यकारी नेतृत्व क्षमतासम्बन्धी व्यावहारिक तालिम प्रदान गरिने रूपरेखामा उल्लेख छ।
एकेडेमीको परीक्षामा प्राप्त अंक उत्तीर्ण वा अनुत्तीर्ण निर्धारण गर्न मात्र प्रयोग नहुने र अन्तिम उम्मेदवार छनोटको समग्र प्राप्ताङ्कमा समेत जोडिने रास्वपाले जनाएको छ।
नेताको पहुँच, दबाब वा चाकडीका आधारमा नभई न्यूनतम अध्ययन, क्षमता र योग्यताका आधारमा जनप्रतिनिधि छनोट गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको पार्टीको भनाइ छ।








