काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ असोज २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ डिबेन्चर जारी गर्न लागेको हो। कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाइ संस्थागत तथा अन्य लगानीकर्तालाई निजी तवरबाट बिक्रीका लागि छुट्याइएको छ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिनेछ।
सात वर्ष अवधिको उक्त डिबेन्चरमा लगानी गर्न इच्छुक व्यक्तिले असोज २९ देखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप गर्न सकिने बैंकले जनाएको छ।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम निष्कासित सम्पूर्ण इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले देशभरका ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। बैंकका अनुसार हाल ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।








