काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई उत्पादनमा आधारित अनुदानबापत १० करोड ४३ लाख रुपैयाँ निकासा गरेको छ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उत्पादित उखुको अनुदानबापत भुक्तानी गर्नुपर्ने रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाइएको हो।
उक्त रकम बर्दिया र रौतहटका ४ हजार ८४२ उखु किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अनुदान रकम किसानको बैंक खातामा सिधै जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
चाडपर्व नजिकिँदै गर्दा लामो समयदेखि अनुदानको प्रतीक्षामा रहेका किसानले रकम पाउने भएका छन्।








