मुम्बईको जुहू क्षेत्रमा अभिनेता टाइगर श्राफको गाडीमा भएको गोली प्रहारको घटनाबारे उनको टोलीको स्पष्टीकरण सार्वजनिक भएको छ।

टाइगर श्राफका प्रवक्ताले अभिनेताले मुम्बई प्रहरीको क्राइम ब्रान्चसमक्ष आफू ‘मानसिक आघातमा रहेको’ बयान दिएको भनी सार्वजनिक भएका सञ्चारमाध्यमका दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।

प्रवक्ताका अनुसार टाइगरले त्यस्तो कुनै पनि बयान दिएका छैनन्। यता घटनाको अनुसन्धान गरिरहेको प्रहरीले राजस्थान, उत्तर प्रदेश र हरियाणाबाट हालसम्म १० जनालाई नियन्त्रणमा लिएको छ।

एनडीटीभीको समाचारमा स्रोतलाई उद्धृत गर्दै टाइगर श्राफले क्राइम ब्रान्चसँगको कुराकानीमा आफू गहिरो मानसिक आघातमा रहेको र आफूमाथि यस्तो ज्यानै लिने प्रयास कसले र किन गर्न चाहन्छ भनी बताएको दाबी गरिएको थियो। टाइगरका प्रवक्ताले उक्त समाचारलाई खण्डन गर्दै त्यो खबर पूर्ण रूपमा झूटो भएको र अभिनेताले त्यस्तो कुनै बयान नदिएको स्पष्ट पारेका छन्।

यसअघि उनको टोलीले सामाजिक सञ्जालमा भइरहेका भ्रमपूर्ण दाबी, एआई निर्मित भिडियो र कपोलकल्पित कथाबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको थियो। टोलीले टाइगर र उनको आधिकारिक टोलीबाट आउने जानकारीमा मात्र विश्वास गर्न अनुरोध गर्दै गलत समाचार र एआई निर्मित सामग्री फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

टोलीका अनुसार आफूहरूले त्यस्ता सामग्रीको समर्थन नगर्ने र त्यसमा कुनै संलग्नता समेत नरहेको स्पष्ट पारिएको छ। सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालका पेजहरूले जिम्मेवारी देखाउनुपर्ने तथा कुनै पनि सूचना प्रकाशित गर्नुअघि त्यसको पुष्टि गर्नुपर्ने टोलीको भनाइ छ। भ्युज वा आर्थिक लाभका लागि गलत सूचना बनाउन वा फैलाउन नहुनेमा उनीहरूले जोड दिएका छन्।

गत अक्टोबर १८ मा मुम्बईको जुहूस्थित फुटबल मैदानबाट बाहिरिने क्रममा टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको थियो। दुई जना आक्रमणकारीले ५ देखि ७ राउन्ड गोली चलाएका थिए।

घटनामा टाइगर घाइते भएका थिए भने उनका चालकलाई गोली लागेको थियो। चालक घाइते भएपछि टाइगर आफैँले गाडी चलाएर सिधै अस्पताल पुगेका थिए।

घटनाको अनुसन्धानमा खटिएको मुम्बई प्रहरीले कारबाही अघि बढाउँदै राजस्थान, उत्तर प्रदेश र हरियाणाबाट हालसम्म १० जना सन्दिग्धहरूलाई समातेको छ। प्रहरीले सबै आरोपीहरूसँग सोधपुछ गर्दै घटनाको थप अनुसन्धान गरिरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय