काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ।
मन्त्री पोखरेलको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्ध, हालैका बाढीपहिरोबाट भएको क्षति र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सहकार्यबारे विचारविमर्श भएको हो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शैक्षिक विकासमा स्विस सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीईटी) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।
उक्त ऐन पारित भएपछि प्राविधिक शिक्षाको नीतिगत सुधार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना र प्राविधिक तथा व्यावसायिक शिक्षालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्री पोखरेलले बताए।
त्यस अवसरमा राजदूत मेउलीले भोटेकोशी क्षेत्रमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संवेदना प्रकट गरे। उनले नेपाल र स्विट्जरल्याण्डबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।








