काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद कुनै एक व्यक्तिको निर्देशनमा नभई आफ्नै क्षमता, विवेक र जिम्मेवारीअनुसार अघि बढिरहेको बताएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खरेलले सत्तापक्षका सांसदले सरकारका कमजोरी औँल्याउनु र सुधारका लागि सुझाव दिनुलाई सरकार ढाल्ने प्रयासका रूपमा बुझ्न नहुने स्पष्ट पारे।
सरकारलाई सबै विषयको जानकारी नहुन सक्ने उल्लेख गर्दै उनले आवश्यक विषय सरकारसमक्ष पुर्याउन सत्तापक्षका सांसदले पनि आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।
“सरकारलाई सुझाव दिनु र कमजोरी सुधार्न दबाब दिनु आवश्यक छ। त्यसको अर्थ सरकार ढाल्न खोजिएको भन्ने होइन,” खरेलले भने। उनले पार्टीका सबै सांसद कुनै एक व्यक्तिको निर्देशनमा परिचालित नभएको पनि दोहोर्याए।
खरेलले मुलुकको विकास चाहने राजनीतिक दलहरूले सरकार गिराउने गतिविधिमा लाग्नुभन्दा आपसी सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। सरकारबाट गल्ती भए त्यसलाई स्वीकार गरेर सुधार गर्दै अघि बढ्न सकिने उनको भनाइ थियो।
तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै प्रतिपक्षी दलका नेताहरूले दिएका अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि जनाए। सरकार ढले आफूहरू सत्तामा पुग्न सकिने विपक्षीको सोच स्वाभाविक भए पनि राजनीति पद प्राप्तिका लागि मात्र नभई देश सञ्चालन र विकासका लागि हुनुपर्ने उनले बताए।
खरेलले जनताले सरकारलाई पाँच वर्ष काम गर्ने अपेक्षासहित ठूलो जनमत दिएको उल्लेख गर्दै सरकारलाई स्थिर रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए।








