काभ्रेपलाञ्चोक प्रहरीले अवैध रूपमा काठमाडौं ल्याउँदै गरिएको विभिन्न प्रकारका आतिसबाजी तथा पटाकासहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङमा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरेको हो।

अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको टोलीले धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००९ ख ९२२४ नम्बरको यात्रुवाहक ईभी हाइस जाँच गर्दा पटाका फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जाँचका क्रममा उक्त गाडीमा सवार जनकपुर उपमहानगरपालिका–६, धनुषाका १९ वर्षीय राहुल कुमार साहको गुलाबी रङको सुटकेस तथा गाडीको डिक्कीमा राखिएका निलो, सेतो र पहेँलो रङका बोराबाट विभिन्न प्रकारका आतिसबाजी बरामद गरिएको प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए।

प्रहरीका अनुसार बरामद सामग्रीमा ‘CHORSHA CRACKERS’ लेखिएका २५ बन्डल, प्रत्येक पेटीमा ५० प्याकेटका दरले कुल १ हजार २५० प्याकेट पटाका, ‘High Speed Spinner Deluxe’ तथा ‘The Classic Fire Works Industries Sivakasi’ का आतिसबाजी रहेका छन्।

त्यसैगरी, ‘SRI AYYAMMAL FIRE WORKS SIVAKASI’ का १५ थान, ‘Crackling Sparklers’ का ३६ प्याकेट र ‘Rocket Bomb’ का नौ प्याकेटमा रहेका १०–१० थान गरी ९० थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याई विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ६ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय