काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिह्नभन्दा योग्य र सक्षम उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन सरकारसँग माग गर्दै आफ्नो पार्टी निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

बुधबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषणापत्र तथा प्रतिबद्धतापत्रमा उल्लेख गरेका स्थानीय निर्वाचनलाई गैरदलीय बनाउने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलभन्दा जनताप्रति बढी जवाफदेही हुनुपर्छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र दैनिक सेवा प्रवाहजस्ता जनतासँग प्रत्यक्ष जोडिएका विषयमा दलीय हस्तक्षेप कम गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको उनको तर्क छ।

घिसिङले दलीय टिकट वितरणमा हुने आर्थिक चलखेल, भ्रष्टाचार तथा पार्टीको निर्देशनमा जनप्रतिनिधि चल्नुपर्ने अवस्थाको अन्त्य गर्न आगामी निर्वाचनअघि नै आवश्यक कानुन संशोधन र नियम निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले गैरदलीय निर्वाचन प्रणाली लागू नभए पनि उज्यालो नेपाल पार्टी निर्वाचनमा सहभागी हुने बताए। पार्टीले राम्रो कार्यसम्पादनको विगत भएका, जनताको सेवा गर्न सक्ने र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ। त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने भए पनि अहिले नै उम्मेदवारीको टिकट वितरण गर्ने पक्षमा पार्टी नरहेको उनले स्पष्ट पारे।

विदेशमा रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नु पनि पार्टीको प्रमुख एजेन्डा भएको घिसिङले बताए। यसअघि समय अभाव, संसद् नहुनु र कानुनी प्रक्रियाका कारण विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कठिनाइ भएको उनको भनाइ छ।

संसद् र सरकार दुवै विद्यमान अवस्थामा रहेका बेला विदेशमा रहेका नेपालीको मतदान अधिकार तथा स्थानीय निर्वाचनलाई गैरदलीय बनाउने प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ गर्न नहुने उनले बताएका छन्। रास्वपाले यी विषयमा जनताको समर्थन प्राप्त गरेको दाबी गर्दै घिसिङले प्रतिबद्धताअनुसार ठोस कदम चाल्न सरकारलाई आग्रह गरे।

यसैबीच, श्रम संस्कृति पार्टीसँग एकता गर्ने विषयमा अहिलेसम्म कुनै संवाद वा भेटघाट नभएको घिसिङले जानकारी दिए। भविष्यमा विचार र एजेन्डामा सहमति भए विभिन्न दलसँग एकताबारे छलफल हुन सक्ने भए पनि अहिले उज्यालो नेपाल पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित रहेको उनले बताए।

घिसिङले सुशासन कायम गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउने पार्टीको मुख्य उद्देश्य रहेको उल्लेख गरे। भाषणभन्दा कामलाई प्राथमिकता दिने बताउँदै उनले आर्थिक रूपान्तरण, विभेदको अन्त्य र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय