काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उमेरलाई लिएर विवाद उत्पन्न भएको छ। मनोनयन दर्ता गर्ने समयमै भट्ट ३६ वर्ष पुगिसकेको दाबी गर्दै उनको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाइएको हो।

उपलब्ध विवरणअनुसार भट्टको जन्म २०४८ असोज १३ गते लमजुङको चक्रतीर्थ–८ मा भएको हो। उनले असोज २० गते केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए। जन्ममितिलाई आधार मान्दा मनोनयन दर्ता गर्दा उनी ३६ वर्ष पुगेको देखिन्छ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को परिच्छेद ७ अन्तर्गत धारा २१ को उपधारा (१०) मा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी कुल २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

भट्टको उमेर र उम्मेदवारीको योग्यताबारे प्रश्न उठाउँदै कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ। उजुरीमा युवा क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारको उमेर आधिकारिक नागरिकता र अन्य प्रमाणका आधारमा छानबिन गर्न माग गरिएको छ।

उजुरीकर्ताले मनोनयन दर्ताको मितिलाई आधार मानेर प्रत्येक उम्मेदवारले विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा गरे वा नगरेको यकिन गर्नुपर्ने बताएका छन्। भट्टको हकमा निर्धारित उमेरसीमा नाघेको पुष्टि भए उम्मेदवारी तथा निर्वाचनको वैधानिकता पुनरावलोकन गरी विधान र प्रचलित निर्वाचन नियमावलीअनुसार आवश्यक निर्णय लिन पनि माग गरिएको छ।

युवा क्लस्टरबाट निर्वाचित अन्य सदस्यहरूको उमेर र उम्मेदवारीको वैधानिकतासमेत निष्पक्ष रूपमा परीक्षण गर्नुपर्ने उजुरीमा उल्लेख छ।

यस विषयमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले अधिवेशन प्रक्रिया सुरु हुँदाको उमेरलाई आधार मानिएको बताएका छन्। उनका अनुसार असोज ३ गतेसम्म भट्ट ३५ वर्षका थिए। तर, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउँदासम्म उनी ३६ वर्ष पुगिसकेको उनको भनाइ छ।

‘नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया सुरु भएको समयलाई आधार मानियो,’ कटुवालले भने। उनका अनुसार उम्मेदवारी दर्ता गर्ने समयको उमेरलाई भने ध्यान दिइएन।

यता, भट्टले क्षेत्रीय अधिवेशनका बेला आफू ३५ वर्षको रहेकाले विधानअनुसार उम्मेदवारी दिएको दाबी गरेका छन्। उम्मेदवारी दिनुअघि पार्टीका शीर्ष नेताहरूसँग उमेरबारे परामर्शसमेत गरेको उनले बताएका छन्।

आफ्नो उम्मेदवारीको बचाउ गर्दै भट्टले अधिवेशन प्रक्रिया सुरु हुँदाको उमेर र उम्मेदवारी दर्ता गर्दाको उमेर फरक परेको तर्क गरेका छन्। ‘लोकसेवा आयोगको परीक्षा दिँदा एउटा उमेर हुन्छ, रिजल्ट आइपुग्दा अर्को उमेर हुन्छ। अधिवेशन प्रारम्भिक दिनमा मेरो एउटा उमेर थियो। मेरो पनि त्यस्तै भएकाले उम्मेदवारी दर्ता गर्दासम्म अर्को उमेर भएको हो,’ उनले दाबी गरे।

भट्टको उम्मेदवारी विधानअनुसार योग्य थियो वा थिएन भन्ने विषयमा अब निर्वाचन समितिको छानबिन र निर्णय महत्त्वपूर्ण हुने देखिएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय