काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न शैक्षिक तथा प्रशासनिक विषय र पदका लागि बढीमा १ वर्षका लागि करार सेवामा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ।
क्याम्पसको पदपूर्ति समितिले मंगलबार सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन फारम भरी बुझाउन आह्वान गरेको हो ।
क्याम्पसले नेफ्रोलोजी, एनेस्थेसियोलोजी (कार्डियोथोरासिक भास्कुलर), न्यूरोलोजी, ओरल एन्ड म्याक्सिलो-फेसियल सर्जरी, अर्थोपेडिक्स (स्पाइन तथा पिडियाट्रिक), प्याथोलोजी, अप्थाल्मोलोजी र सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी विषयमा उपप्राध्यापक पदका लागि दरखास्त मागेको छ।
त्यसैगरी अब्स एन्ड गाइने, रेडियोलोजी (विमेन्स, बडी, मस्कुलोस्केलेटल र कार्डियोथोरासिक), फोरेन्सिक मेडिसिन, क्लिनिकल साइकोलोजी, पिडियाट्रिक, पिडियाट्रिक हेमाटोअङ्कोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, इमर्जेन्सी मेडिसिन, क्रिटिकल केयर मेडिसिन, प्लास्टिक सर्जरी, इन्टर्नल मेडिसिन तथा इन्टर्नल मेडिसिन मेडिकल अङ्कोलोजी विधामा पनि उपप्राध्यापक पदहरू खुलाइएका छन्।
प्रशासनिक तथा प्राविधिक क्षेत्रतर्फ भने जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा १ वर्ष अनुसन्धान वा तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्य अनुभव भएको जनस्वास्थ्य अधिकृत एक जना र कम्प्युटर/सूचना प्रविधिसम्बन्धी स्नातक उत्तीर्ण गरी १ वर्षको कार्य अनुभव भएका सूचना प्रविधि अधिकृत एक जनाको माग गरिएको छ।
माग गरिएका सबै उपप्राध्यापक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर, डीएम, एमएच वा विद्यावारिधि उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ। केही विशिष्टीकृत पदहरूका लागि भने थप १ वर्षको फेलोसिप वा कार्य अनुभव अनिवार्य गरिएको छ।
आवेदन फारम तथा विस्तृत जानकारीका लागि क्याम्पसको सूचना पाटीका साथै आधिकारिक वेबसाइटहरू
https://mmciom.edu.np/vacancy/ र https:// www.mmc.tu.edu.np/vacancy मा हेर्न सकिने पदपूर्ति समितिले जनाएको छ।









