काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात बुधबार बिहान करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो ।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र विद्युत्का खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लाहरूमा समेत तीव्र हावाहुरी र भारी वर्षा भइरहेको जनाइएको छ ।
प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।
कमजोर हुँदै चक्रवात
चक्रवात अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।
जमिनमा प्रवेश गरेपछि चक्रवातको तीव्रता क्रमशः घट्दै गएको छ । सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’का रूपमा रहेको प्रणालीलाई कमजोर हुँदै गएपछि ‘भीषण चक्रवाती आँधी’को श्रेणीमा झारिएको जनाइएको छ । बुधबार दिउँसोसम्म सामान्य चक्रवाती आँधीमा र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ ।
नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
चक्रवातको अवशेषबाट विकसित हुने मौसमी प्रणाली नेपालसम्म आइपुग्न सक्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिँदा वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यसको प्रभाव बुधबारदेखि देखिन सक्नेछ । बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात तथा अन्य स्थानमा वर्षा हुने सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । केही स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिएकी छन् ।
सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै उनले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न तथा त्यहाँ पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरेकी छन् । सम्भावित जोखिमबाट बच्न सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।








