काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गण्डकी प्रदेशका विभिन्न गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्न चाहने १९७ जनाले आवेदन दिएका छन् । पार्टीले गाउँपालिका अध्यक्षका आकांक्षीका लागि भदौ १ गतेदेखि अनलाइन आवेदन खुला गरेको थियो ।

प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङका गाउँपालिकाबाट भने हालसम्म अध्यक्ष पदका लागि कसैले आवेदन दिएका छैनन् । मनाङमा चार र मुस्ताङमा पाँच गाउँपालिका छन् । रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीका अनुसार ती दुई जिल्लामा पार्टी अहिले संगठन निर्माणको चरणमा छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै आकांक्षी गोरखामा देखिएका छन् । त्यहाँबाट ४१ जनाले आवेदन दिएका छन् । त्यसैगरी स्याङ्जाबाट ३२, कास्कीबाट ३१, तनहुँ र पर्वतबाट २३–२३, बागलुङबाट १६, नवलपुरबाट १४, लमजुङबाट ११ र म्याग्दीबाट ६ जनाले अध्यक्ष बन्न इच्छा देखाएका छन् ।

गण्डकी प्रदेशमा कुल ५८ गाउँपालिका छन् । गाउँपालिकाको संख्या बढी रहेको गोरखामा अध्यक्षका आकांक्षी पनि सबैभन्दा धेरै देखिएका हुन् । गोरखाका विभिन्न गाउँपालिकामध्ये अजिरकोटबाट नौ, गण्डकी, शहीद लखन र सिरानचोकबाट सात–सात, बारपाक सुलिकोटबाट पाँच, भीमसेनथापाबाट चार तथा चुमनुब्री र धार्चेबाट एक–एक जनाले आवेदन दिएका छन् ।

बागलुङका छ गाउँपालिकामध्ये काठेखोला र निसीखोलाबाट चार–चार, बडिगाडबाट तीन, बरेङ र तमानखोलाबाट दुई–दुई तथा ताराखोलाबाट एक जनाले अध्यक्ष पदमा उम्मेदवार बन्न चाहेका छन् ।

स्याङ्जाका छ गाउँपालिकाबाट ३२ जनाले आवेदन दिएका छन् । आँधीखोलाबाट सबैभन्दा बढी १० जनाले इच्छा देखाएका छन् । अर्जुनचौपारी र फेदीखोलाबाट छ–छ, हरिनासबाट पाँच, कालीगण्डकीबाट तीन र बिरुवाबाट दुई जनाले आवेदन दिएका छन् ।

तनहुँका आँबुखैरेनीबाट दुई, बन्दीपुर र घिरिङबाट छ–छ, देवघाटबाट चार, म्याग्देबाट चार तथा ऋषिङबाट एक जनाले अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।

पर्वतका पाँच गाउँपालिकामध्ये बिहादीबाट सात, मोदीबाट छ, पैयुँबाट पाँच, जलजलाबाट तीन र महाशिलाबाट दुई जनाले आवेदन दिएका छन् । म्याग्दीमा धवलागिरि, मंगला र रघुगंगाबाट दुई–दुई जनाले आवेदन दिएका छन् भने अन्नपूर्ण र मालिका गाउँपालिकाबाट हालसम्म आवेदन परेको छैन ।

कास्कीका चार गाउँपालिकामध्ये मादीबाट १२, माछापुच्छ्रेबाट नौ, अन्नपूर्णबाट आठ र रूपाबाट दुई जनाले अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन् । लमजुङका दोर्दीबाट दुई, दूधपोखरीबाट पाँच, क्व्होलासोथारबाट एक र मर्स्याङ्दीबाट तीन जनाले आवेदन दिएका छन् ।

नवलपुरमा बौदीकालीबाट दुई, बुलिङटारबाट चार र हुप्सेकोटबाट आठ जनाले आवेदन दिएका छन् ।

रास्वपाले गाउँपालिकासँगै नगरपालिकामा पनि जनप्रतिनिधि बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ । नगरपालिकाका लागि असोज २९ गतेदेखि आवेदन लिन थालिएको हो ।

पार्टीका नेताहरूका अनुसार अध्यक्ष पदमा आकांक्षीको संख्या उल्लेख्य भए पनि उपाध्यक्ष र सदस्य पदमा आवेदन कम परेको छ । प्रदेश सभापति त्रिपाठीले आवेदन दिने समय अझै रहेकाले थप आकांक्षी आउने अपेक्षा रहेको बताए । उनका अनुसार केही व्यक्ति अन्य दल वा क्षेत्रबाट पार्टीमा प्रवेश गर्ने सम्भावना रहेकाले पनि आवेदन प्रक्रियामा सहभागी हुन बाँकी छन् ।

रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन दिने अन्तिम मिति भने हालसम्म तोकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय