काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेपालका चार प्रमुख स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक सीप विकासमा सहयोग पुग्ने उपकरण हस्तान्तरण गरेको छ ।
उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल, पाल्पा रहेका छन् ।
मंगलबार वीर अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङ्बोसहित उपकरण प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा उपकरण हस्तान्तरणका लागि बेलायतबाट आएका एनडीए युकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ, पूर्वअध्यक्ष प्राडा फौदराज थेवे तथा डा. प्रदीप बस्न्यातलगायतको उपस्थिति थियो ।
रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, प्राडा मनोहरलाल श्रेष्ठसहित विभिन्न स्वास्थ्य संस्था तथा सम्बन्धित निकायका प्रतिनिधि र सदस्यहरूको सहभागिता थियो ।
आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकहरूको व्यावहारिक सीप र दक्षता अभिवृद्धि गर्ने, चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको हो ।
कार्यक्रममा एनडीए युकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठले शल्यक्रियाको अभ्यास तथा सिमुलेसनका लागि आवश्यक सामग्रीले चिकित्सकहरूको सीप विकासमा सहयोग पुग्ने बताए । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा यसपटक चार स्वास्थ्य संस्थालाई उपकरण उपलब्ध गराइएको उनले जानकारी दिए ।
कार्यक्रममा एनडीए युकेका पूर्वअध्यक्ष डा. फौदराज थेवे, डा. प्रदीप बस्न्यात र महासचिव डा. पारुल श्रेष्ठलगायतले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा संस्थाले गर्दै आएको सहयोगबारे चर्चा गरेका थिए ।








