विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–६ का ३६ वर्षीय अफरोज आलम र शव लुकाउन तथा व्यवस्थापन गर्न सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्।

प्रहरीका अनुसार आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। पक्राउ परेका नाबालकमध्ये एक जना १३ वर्षीय भारतीय र अर्का १६ वर्षीय नेपाली नागरिक हुन्।

भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए। उनी विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए। गत कात्तिक ६ गते दिउँसो करिब ३ बजेदेखि उनी पसलबाटै बेपत्ता भएका थिए।

परिवार तथा आफन्तले खोजी गरिरहेका बेला कात्तिक ८ गते सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा एक पुरुषको शव फेला परेको थियो। स्थानीयको सूचनापछि घटनास्थल पुगेको प्रहरीले उक्त शव गुप्ताको भएको पुष्टि गरेको थियो।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहित विशेष टोली परिचालन गरेको थियो। अनुसन्धानका क्रममा कात्तिक १० गते साँझ प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोप आलममाथि लागेको थियो। उक्त विषयमा गुप्ताले हल्ला फैलाएको भन्दै दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीको भनाइ छ।

सोही विवादपछि आलमले गुप्तालाई घरमा बोलाएर फलामको जिआई पाइप प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्यापछि शव लुकाउन तथा खोलाको किनारमा फाल्न दुई जना नाबालकको सहयोग लिएको आरोप आलममाथि छ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको फलामको जिआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव पोको पार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय