काठमाडौँ । भारतको इलाहाबाद उच्च अदालतमा न्यायाधीश र कानुन व्यवसायीबीचको विवाद चर्किँदा इजलासभित्रै विरोध प्रदर्शन र तोडफोड भएको छ। न्यायाधीश अजय भानोतको इजलास बहिष्कार गर्ने चेतावनी दिएको भोलिपल्ट बुधबार कानुन व्यवसायीहरूले इजलासमै प्रदर्शन गर्दै डायसतर्फ फर्निचर प्रहार गरेका हुन्।
इलाहाबाद उच्च अदालत बार एसोसिएसनका अनुसार विवाद मंगलबार इजलासमा कानुन व्यवसायीका लागि छुट्याइएको सिटमा एक प्रहरी उपरीक्षक (एसपी) बसेपछि सुरु भएको थियो।
इजलासमा प्रहरी तथा अन्य उच्चपदस्थ अधिकारीका लागि छुट्टै कुर्सीको व्यवस्था रहेको भन्दै एक अधिवक्ताले एसपीलाई पछाडिको सिटमा बस्न आग्रह गरेका थिए। तर, न्यायाधीश भानोतले प्रहरी अधिकारीसँग असहमति जनाएको भन्दै ती अधिवक्तालाई माफी माग्न लगाएको बार एसोसिएसनको आरोप छ।
बारका अनुसार न्यायाधीशले ती अधिवक्तालाई जेल हाल्ने धम्की दिनुका साथै अर्का एक वरिष्ठ अधिवक्ताको उपहाससमेत गरेका थिए। उक्त व्यवहारप्रति असन्तुष्टि जनाउँदै बार एसोसिएसनले मुख्य न्यायाधीशको ध्यानाकर्षण गराएको थियो।
अधिवक्तामाथि भएको भनिएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै बारले न्यायाधीश भानोतको इजलास बहिष्कार गर्ने चेतावनी दिएको थियो। त्यसको भोलिपल्टै विवाद थप चर्किएपछि कानुन व्यवसायीहरूले इजलासभित्रै प्रदर्शन गरेका हुन्।
घटनाले अदालतभित्र न्यायाधीश र कानुन व्यवसायीबीचको सम्बन्ध तथा न्यायिक मर्यादासम्बन्धी विवादलाई थप सतहमा ल्याएको छ।








