पोखरा । पोखरा महानगरपालिका–२८ ओख्लेस्थित कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा तीव्र गति र प्राविधिक खराबी मुख्य कारण रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ। गत असोज २३ गते भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने केही विद्यार्थी घाइते भएका थिए।

पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिले दुर्घटनाको कारण पहिचान गर्दै विद्यालय यातायातलाई सुरक्षित बनाउन तत्काल र दीर्घकालीन सुधारका उपाय अपनाउन सुझाव दिएको छ। समितिका अनुसार दुर्घटनामा सवारीको प्राविधिक अवस्था र चालकको असावधानी दुवै जिम्मेवार देखिएका छन्।

छानबिनका क्रममा दुर्घटनामा परेको बस विद्यालयको आफ्नै स्वामित्वमा नभई भाडामा सञ्चालन भइरहेको पाइएको छ। साथै, २०८२ पुसमा सवारी नवीकरण गर्दा अनिवार्य प्राविधिक जाँचपास नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

चालक तुलबहादुर गुरुङले बयानका क्रममा विद्यार्थी लिन ढिलो भएका कारण बस तीव्र गतिमा चलाएको बताएका थिए। तीव्र गतिमा रहेको बसको बायाँ पाङ्ग्रा सडकको होचो किनारतर्फ झरेपछि चालकले स्टेरिङ मोडेर नियन्त्रणमा लिन खोजेका थिए। तर, बस नियन्त्रणमा आउन नसक्दा दुर्घटना भएको समितिको निष्कर्ष छ। चालकले सुरुमा बसको अगाडि कालो वस्तु आएको बयान दिएको पनि जनाइएको छ।

समितिले सडकको सतह सामान्य रहे पनि उकालो र घुम्ती भएको जोखिमपूर्ण क्षेत्रमा आवश्यक छेकबारको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। दुर्घटनाका बेला ३० सिट क्षमताको बसमा चालकसहित १९ जना सवार थिए।

विद्यालय बसको सुरक्षा मापदण्ड कडाइ गर्न सुझाव

समितिले विद्यालयका सवारीसाधन नवीकरण गर्दा अनिवार्य प्राविधिक जाँचपास र बिमासम्बन्धी कागजात पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सुझाव दिएको छ। नेपाल सरकारको विद्यालय बस निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तथा चालकको नियमित स्वास्थ्य परीक्षण र योग्यता प्रमाणीकरण अनिवार्य बनाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, विद्यालयका प्रत्येक सवारीसाधनमा जीपीएस प्रणाली र सीसीटीभी क्यामेरा जडान गरी गति तथा आवागमनको निगरानी गर्नुपर्ने सुझाव दिइएको छ। सवारीसाधनको मर्मतसम्भारसम्बन्धी छुट्टै अभिलेख राख्ने र बस सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कार्यविधि बनाएर लागू गर्नुपर्ने समितिको भनाइ छ।

चालक तथा परिचालकलाई नियमित सुरक्षा तालिम प्रदान गर्ने, सरोकारवाला निकायबाट विद्यालय बसको अनुगमन गर्ने र विद्यार्थी, चालक तथा परिचालक सबैको दुर्घटना बिमा अनिवार्य गर्ने व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ।

दुर्घटनापछि महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले घटनास्थल निरीक्षण गर्नुका साथै चालक, घाइते, स्थानीय बासिन्दासँगको जानकारी, सवारीसाधनको अवस्था र अस्पतालका कागजात अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ।

समितिका सुझाव कार्यान्वयन भए विद्यालय यातायातको व्यवस्थापन सुधार हुनुका साथै भविष्यमा यस्ता दुर्घटनाबाट बालबालिकाको ज्यान जोखिममा पर्ने अवस्था न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय