काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा मदिरा सेवनका क्रममा सुरु भएको सामान्य विवादले भयावह रूप लिँदा एक युवकको मृत्यु भएको छ। साथीहरूबीचको विवाद, आवेग र प्रतिशोधको भावनाले अन्ततः ज्यान जाने अवस्था सिर्जना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार घटना गत कात्तिक ८ गते रातिको हो। धम्पुसका राजेन्द्र पौडेल दसैँअघि ट्रेकिङमा गएर फर्किएका थिए। उनले ट्रेकिङबाट कमाएको पैसाबाट साथीहरूलाई मदिरा र बियर खुवाउने योजना बनाएर गाउँकै साथीहरूलाई रेस्टुरेन्टमा बोलाएका थिए।
सबैजना मदिरा सेवनमा व्यस्त भइरहेका बेला राजेन्द्रले नजिकै रहेको मौरीको घार फुटाइदिएपछि विवाद सुरु भएको थियो। साथीहरूले घार फुटाउनुको कारण सोध्दा विवाद बढ्दै गयो। त्यसक्रममा राजेन्द्रले आशिष गुरुङको खुट्टामा हँसिया प्रहार गरेको र अर्का साथी मिलन विकको घाँटीमा समेत हँसिया प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
त्यसपछि साथीहरू आ–आफ्नो घर फर्किए पनि विवाद त्यत्तिमै रोकिएन। प्रहरीका अनुसार आफूमाथि हँसिया प्रहार भएको विषयलाई लिएर आशिषले प्रतिशोधको भावना राखे। राति करिब १२ बजेतिर उनले विक्रम पुन र लिलबहादुर पुनसहित अन्य साथीहरूलाई बोलाएर राजेन्द्रको घर पुगेका थिए।
त्यहाँ पुगेपछि उनीहरूले राजेन्द्रमाथि बाँसको भाटा, मुक्का र लात्तीले कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ। कुटपिटपछि उनलाई घिसारेर बारीमा लगिएको कास्की प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार घटनास्थलमा राजेन्द्रको शरीरभरि निलडाम र चोटपटक देखिएको थियो। उनी नग्न अवस्थामा मृत भेटिएका थिए। अनुसन्धानका क्रममा राति राजेन्द्रले आमासँग सिरक मागेर बारीमै ओढेको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार घटनामा पूर्वरिसइबी वा पूर्वयोजना देखिएको छैन। अत्यधिक मदिरा सेवनपछि सुरु भएको विवाद र त्यसपछि बढेको आवेगका कारण घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।
प्रहरीका अनुसार राजेन्द्र साथीहरूलाई भेट्न जानुअघि दिदीभिनाजुको घर पुगेका थिए। मोबाइल हराएको भन्दै उनले भिनाजुसँग मोबाइल मागेका थिए। मोबाइल नपाएपछि रिसको झोकमा भिनाजुको मोबाइल फुटाएर हँसिया लिएर निस्किएको अनुसन्धानबाट खुलेको छ।
हँसिया प्रहारपछि आक्रोशित बनेका साथीहरूमा ‘हामीमाथि आक्रमण गर्ने व्यक्तिलाई त्यसै छाड्न हुँदैन’ भन्ने भावना विकसित भएको प्रहरीको भनाइ छ। यद्यपि, घटनामा संलग्न व्यक्तिहरूको वास्तविक भूमिका र घटनाक्रमबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्। उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी कार्कीले जानकारी दिए।
कात्तिक ९ गते बिहान स्थानीयले बारीमा राजेन्द्रको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिचोक र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको भनिएका दुईवटा बाँसका भाटा, एउटा दाउरा, एउटा हँसिया, बियर र पानीका बोतल बरामद गरेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।








