काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आवश्यक उपकरण जडान गर्ने सेवा प्रदायक कम्पनीहरूको सूचीकरण प्रक्रिया सुरु गरेको छ।
विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनका लागि भेहिकल लोकेसन ट्र्याकिङ डिभाइस, आपत्कालीन सूचना बटन (प्यानिक बटन) र क्यामेरा प्रणाली जडान गर्न इच्छुक कम्पनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
विभागका अनुसार सूचीकरणका लागि आवेदन दिने कम्पनीसँग जीपीएस तथा टेलिमेट्रिक्स उत्पादन क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्नेछ। त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति (टीएपी–०४), अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण र काठमाडौँ उपत्यकाबाहिर सेवा केन्द्रसमेत हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनसहित आवश्यक कागजात पेस गरेका कम्पनीका उपकरण विभागको सर्भरमा परीक्षण गरिनेछ। परीक्षण सफल भएका उपकरणलाई सुरुमा तीन महिनाका लागि अस्थायी सूचीकरण गरिने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी पूर्ण सूचीकरण गरिने विभागले जनाएको छ।
यसैबीच, मापदण्डविपरीतका उपकरण जडान गरेका सवारी साधनले छ महिनाभित्र नयाँ मापदण्डअनुसारका उपकरण जडान गरिसक्नुपर्नेछ। यस व्यवस्थाले सवारी साधनको निगरानी, आपत्कालीन अवस्थामा सूचना प्रवाह तथा यात्रुको सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
इच्छुक कम्पनीले विभागको कार्यालयमा वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।








