कैलाली । कैलालीको भजनीमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–५, मिलनपुरका कृष्ण डगौरा, राजु डगौरा, राजन डगौरा र उर्मिला डगौरा रहेका छन्। उनीहरूमाथि सोही ठाउँकी ५६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोप छ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार मंगलबार राति करिब ९ बजे चारै जना महिलाको घरमा पुगेका थिए। उनीहरूले महिलामाथि कुटपिट गर्नुका साथै उनकी नातिनीलाई समेत कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

कुटपिटबाट घाइते महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले बुधबार इलाका प्रहरी कार्यालय भजनीमा बोक्सीको आरोपसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले चारै जनालाई उनीहरूकै घरबाट पक्राउ गरेको हो।

प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय