काठमाडौं । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको ऐतिहासिक धरोहरका रूपमा रहेको कात्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु हुँदैछ। करिब ३८६ वर्ष पुरानो इतिहास बोकेको यो नाच यस वर्ष १२ दिनसम्म सञ्चालन हुने भएको छ।
कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार कात्तिक २७ देखि मंसिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा नाच प्रदर्शन गरिनेछ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले धार्मिक, सांस्कृतिक तथा सामाजिक उद्देश्यले यस नाचको सुरुवात गराएका थिए। नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा परम्परागत लोकनाटक प्रस्तुत गरिन्छ।
यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति समावेश गरिएका छन्।
ऐतिहासिक रूपमा लामो समयसम्म प्रदर्शन हुँदै आएको कात्तिक नाच विभिन्न समयमा अवधि घटबढ हुँदै सञ्चालन गरिएको थियो। विसं २०३८ देखि २०६० सम्म आठ दिन, विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो। कोरोना महामारीका कारण विसं २०७७ मा भने दुई दिनमा सीमित भएको थियो।
यस ऐतिहासिक नाचको निरन्तरता र संरक्षणका लागि आर्थिक स्रोत व्यवस्थापन, कलाकारको व्यावसायिक विकास तथा नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरण मुख्य चुनौतीका रूपमा रहेका छन्।
नाच संरक्षणका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो। उक्त कोषमा थप १० लाख रुपैयाँ वृद्धि गरिएको छ भने यस वर्ष महानगरपालिका–१६ ले नाच सञ्चालनका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। समितिले दीर्घकालीन संरक्षणका लागि १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत राखेको छ।
कात्तिक नाचलाई यसको ऐतिहासिक स्वरूपअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्ने वातावरण तयार पार्ने योजना समितिले अघि सारेको छ। साथै, यसलाई विश्वको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गराउने तयारीसमेत भइरहेको जनाइएको छ।
कात्तिक नाच संरक्षण समितिले ऐतिहासिक कला र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउन सर्वसाधारण, संस्कृतिप्रेमी तथा स्वदेशी र विदेशी पर्यटकलाई नाच अवलोकन गर्न आग्रह गरेको छ।








