पोखरा । पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–५ स्थित जिरो किलो नजिक शुक्रबार दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुई युवकको ज्यान गएको हो ।
मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–९, दारुङका २१ वर्षीय विवेक दर्जी र रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे लु ३ च ५२७४ नम्बरको सडक किनारमा रोकिराखेको बोलेरो जिपको पछाडिबाट ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।








