काठमाडौं । भारतको आसाममा मिनीबस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
काजीरंगा राष्ट्रिय निकुञ्ज नजिकै भएको दुर्घटनामा अधिकांश कलेजका विद्यार्थीहरू परेको बताइएको छ । कक्षाबाट फर्किँदै गरेको मिनीबस गोलाघाटबाट नागाउँतर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ जाँदै थियो ।
दुर्घटनामा मृत्यु हुनेमा दुई महिला पनि रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । यद्यपि, मृतकहरूको पहिचान भने खुल्न सकेको छैन ।
गोलाघाटका वरिष्ठ प्रहरी उपरीक्षक स्वप्नील डेकाले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । क्षतिग्रस्त सवारीसाधनबाट शव निकाल्ने तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने उनले बताएका छन् ।
मिनीबसमा सवार यात्रुहरूको वास्तविक संख्या अझै यकिन हुन नसकेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।








