मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् ।
हेटौँडा अस्पतालमा पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि आफन्तले शव बुझेर सर्लाही लगेका हुन् । अस्पतालका अनुसार तीन वटा शववाहनमा राखेर सबै शव सर्लाही पठाइएको छ ।
बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो ।
मृतकहरूको सामूहिक रूपमा एकै स्थानमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मधेश प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा हेटौँडा पुगेको टोलीले मृतकहरूको पारिवारिक रीतिरिवाजअनुसार अन्तिम संस्कारको तयारी गरेको जनाएको छ ।








