काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन समयमै घोषणा नगर्ने आशंका व्यक्त गरेका छन् ।
शुक्रबार कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीमा सरकारले चासो नदेखाएको आरोप लगाए ।
पौडेलका अनुसार स्थानीय तहको निर्वाचन चैत मसान्तमा गर्नुपर्ने अवस्था रहे पनि त्यसका लागि छ महिनाअघि नै घोषणा गर्नुपर्ने समयसीमा नजिकिँदै गएको छ । उनले सरकारले समयमै निर्वाचन घोषणा नगरेको भन्दै चिन्ता व्यक्त गरे ।
सत्तारुढ रास्वपा तथा सरकारले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउने विषय उठाए पनि त्यसअनुसार कुनै ठोस काम अघि नबढाएको उनको आरोप थियो ।
महामन्त्री पौडेलले निर्वाचन प्रणाली वा संरचनामा परिवर्तन गर्न नसके पनि सरकारले विद्यमान व्यवस्थाअनुसार नै समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिए । उनले कांग्रेस निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारे ।
संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी पालिका जित्नुपर्ने बताए । निर्वाचनमार्फत जनताको विश्वास र पार्टीप्रतिको भरोसा पुनः स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।








