वीरगन्ज । छठ पर्वलाई लक्षित गर्दै पर्साको वीरगन्जस्थित प्रसिद्ध घडीअर्वा पोखरी छठघाटमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। छठ पूजाका लागि डेढ लाखभन्दा बढी व्रतालु तथा भक्तजनको आगमन हुने अनुमानसहित सुरक्षा निकायले विशेष तयारी थालेका छन्।
शुक्रबार घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुखहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाइएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठघाटमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बताउँदै भक्तजनलाई सुरक्षाबारे चिन्ता नलिन आग्रह गरे। जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा रणनीति तय गरी सोहीअनुसार जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।
त्यस्तै, पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले छठघाटको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष टोली २४ घण्टै परिचालन गरिने बताए। उनका अनुसार छठघाट परिसरमै सीसीटीभी कन्ट्रोल रुम स्थापना गरी प्रहरी अधिकृतको नेतृत्वमा छुट्टै टोली खटाइनेछ।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पनि सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालन हुने जानकारी दिए। पोखरीको जलाशय ठूलो भएकाले सम्भावित दुर्घटना रोक्न मोटरबोटसहितको टोली खटाइने र महिला सुरक्षाकर्मीसमेत परिचालन गरिने उनले बताए।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन छठघाट परिसरभित्र र बाहिर गरी २० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको व्यवस्थापन समितिले जनाएको छ। साथै, घडीअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवकसमेत परिचालन गरिनेछ।
समितिका अध्यक्ष राकेश साहले विगतका वर्षभन्दा यसपटक भक्तजनको सुरक्षा व्यवस्थालाई अझ व्यवस्थित बनाउने तयारी भइरहेको बताए।
सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छठघाटबाहिर एम्बुलेन्स, दमकल र प्राथमिक उपचार शिविरको व्यवस्था गरिने घडीअर्वा स्पोर्ट्स क्लबका प्रभाकर गुप्ताले जानकारी दिए।
छठ पर्वका अवसरमा वीरगन्जको पहिचानका रूपमा स्थापित घडीअर्वा पोखरीमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने भएकाले भीड व्यवस्थापन, जलाशयको सुरक्षा, आपत्कालीन उद्धार तथा आवागमन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सुरक्षा निकायले जनाएको छ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा ट्राफिक प्रहरीका अधिकारीसहित छठ पूजा व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।








