भारतको राजधानी नयाँदिल्ली पाकिस्तानको लाहोरलाई उछिन्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि २ करोड जनसङ्ख्या रहेको दिल्ली बाक्लो धुवाँ र तुवाँलोले ढाकिएको छ । प्रदूषणका कारण सहरका विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि न्यून स्तरमा पुगेको छ ।

स्विट्जरल्यान्डस्थित वायु गुणस्तर अनुगमन गर्ने संस्था आइक्यूएयर का अनुसार शुक्रबार दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३३४ पुगेको थियो । यसलाई स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ । यो सूचकाङ्कका आधारमा दिल्ली विश्वका प्रमुख सहरमध्ये सबैभन्दा बढी प्रदूषित बनेको हो ।

तर, भारतको सरकारी केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको वायु गुणस्तर सूचकाङ्क अझ उच्च अर्थात् ४०३ मापन गरेको छ । बोर्डले यसलाई ‘अति गम्भीर’ श्रेणीमा राखेको छ ।

स्विस संस्था र भारतीय सरकारी निकायले मापन गरेको प्रदूषणको स्तरमा भिन्नता देखिनुको कारण उनीहरूले प्रयोग गर्ने वायु गुणस्तर सूचकाङ्कको मापन पद्धति र वर्गीकरण प्रणाली फरक हुनु हो ।

सामान्यतया एक्यूआई ५० सम्मलाई राम्रो वायु गुणस्तर मानिन्छ । यस्तो अवस्थामा स्वास्थ्यमा जोखिम न्यून वा नगण्य हुन्छ । तर, दिल्लीको सूचकाङ्क यसभन्दा धेरै माथि पुगेपछि त्यहाँको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ ।

विभिन्न सञ्चारमाध्यममा सार्वजनिक दृश्यमा बाक्लो धुवाँ र तुवाँलोबिच सवारी साधनहरू सडकमा गुडिरहेको देख्न सकिन्छ । मुख्य सडकका बत्तीसमेत प्रदूषणका कारण स्पष्ट नदेखिएका दृश्य पनि देखिन्छन् । प्रदूषण नियन्त्रणका लागि सडकका बिचमा पानीको मसिनो फोहोरा छर्ने प्रणालीसमेत जडान गरिएको छ ।

जाडो यामसँगै बढ्छ वायु प्रदूषण

भारतको उत्तरी क्षेत्र र छिमेकी पाकिस्तानका विभिन्न सहरमा जाडो याम सुरु भएसँगै वायु प्रदूषण गम्भीर समस्या बन्ने गरेको छ । जाडोमा चिसो र भारी हावाले प्रदूषित वायुलाई माथि फैलिन नदिई जमिननजिकै थुन्ने गर्छ । यसका कारण सवारी साधनबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उत्पन्न धुलो तथा कृषि अवशेष जलाउँदा निस्कने धुवाँ वायुमण्डलमा लामो समयसम्म जम्मा हुन्छन् ।

यस्ता प्रदूषक तत्त्वको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किन्छ र बाक्लो तुवाँलो फैलिन्छ ।  यसले मानिसको स्वास्थ्यसँगै दैनिक आवागमन र जनजीवनमा समेत असर पार्ने गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय