काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलनमा नेपालले डिजिटल विभाजन न्यूनीकरण र प्रविधिमा समान पहुँच विस्तारको विषयलाई प्राथमिकताका साथ उठाएको बताएका छन् ।
कतारको दोहामा आयोजित आईटीयू पीपी–२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले विकासशील तथा अल्पविकसित मुलुकमा डिजिटल प्रविधिको पहुँच बढाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा नेपालले जोड दिएको बताए ।
उनका अनुसार सम्मेलनका क्रममा सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा प्रगति गरेका विभिन्न देशसँग डिजिटल रूपान्तरणका लागि सहकार्य तथा साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो । मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसका मन्त्री तथा उच्च अधिकारीहरूसँग भएका द्विपक्षीय भेटवार्तामा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सहकार्यका सम्भावनाबारे विचारविमर्श भएको उनले जानकारी दिए ।
मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको पहुँच विस्तार भइरहे पनि विभिन्न कारणले कतिपय क्षेत्रमा अझै असमानता कायम रहेको बताए । कृत्रिम बौद्धिकता (एआई), फाइभजीजस्ता नयाँ प्रविधिमा पहुँचको अन्तरले डिजिटल विभाजनको स्वरूप थप जटिल बन्दै गएको उनको भनाइ थियो ।
डिजिटल रूपान्तरणको लाभ सबै देश र समुदायसम्म पुर्याउन विकासोन्मुख तथा अल्पविकसित राष्ट्रलाई लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको विषय पनि नेपालले सम्मेलनमा उठाएको उनले बताए ।
त्यस्तै, बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार प्रणालीलाई निरन्तर सञ्चालनमा राख्ने विषयमा पनि सम्मेलनमा छलफल भएको थियो । विपद्का बेला सूचना प्रवाह र उद्धार कार्यमा सञ्चार प्रणालीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नेपालका तर्फबाट नीतिगत धारणा प्रस्तुत गरेका थिए ।
आईटीयूले विश्वव्यापी दूरसञ्चार क्षेत्रको नीति तथा मापदण्ड निर्माण र समन्वयमा काम गर्दै आएको छ । यस संस्थामा १९४ सदस्य राष्ट्र आबद्ध छन् ।








