काठमाडौं । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रमा यात्रुवाहक भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलका अनुसार बिहीबार राति चालकले सवारीसाधनको नियन्त्रण गुमाउँदा भ्यान सडकबाट नदीमा खसेको हो ।
दुर्घटनापछि उद्धारकर्मी र प्रहरीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए । शुक्रबारसम्म जारी अभियानका क्रममा भ्यानमा सवार ११ जनाको शव फेला परेको र तीन जना घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको अधिकारीहरूले जनाएका छन् ।
घटनाप्रति गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेनले दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको जनाइएको छ ।
पाकिस्तानमा विशेषगरी पहाडी क्षेत्रमा सडकको कमजोर अवस्था, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनको अभाव र असुरक्षित सवारी सञ्चालनका कारण दुर्घटनाहरू हुने गरेका छन् ।
गत साता पूर्वी पाकिस्तानमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।








