काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई औपचारिक भेटघाट र घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र विकासका सम्भावनासँग जोड्न निर्देशन दिएका छन् ।

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन तथा आवश्यक निर्देशन लिन रास्वपाका सांसद तथा नेताहरूले शुक्रबार प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र भ्रमणलाई नेपालको हितमा केन्द्रित गर्न सुझाव दिएको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायत क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन र छलफल गर्न निर्देशन दिएका छन् । चीनको विकास अनुभवबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा पनि प्रधानमन्त्रीको जोड रहेको बुर्लाकोटीले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणलाई दुई देशबीचको पारस्परिक हित र नेपालको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए ।

भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने र नेपालको आधिकारिक धारणा यथावत् रहने जानकारी प्रधानमन्त्रीलाई गराइएको बुर्लाकोटीले स्पष्ट पारे ।

रास्वपाको प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।

टोलीले चीनमा रहँदा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायत विषयमा अध्ययन तथा छलफल गर्ने अपेक्षा गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय