काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई निर्वाचन आयोगले अझै अध्यावधिक गरेको छैन ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले पार्टीको विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको संख्या बढाएको थियो । संशोधित विधानअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको भए पनि आयोगबाट त्यसको औपचारिक अभिलेखीकरण हुन बाँकी छ ।
नयाँ कार्यसमिति र संशोधित विधान अध्यावधिक गरिदिन महामन्त्री प्रदीप पौडेल तथा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालसहितको टोलीले कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सो क्रममा महामन्त्री पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण, विधान संशोधनसम्बन्धी कागजात, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक दस्तावेज र अन्य निर्णयहरू बुझाएका थिए ।
तर, राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार बुझाइएको विवरणमाथि आयोगले अझै निर्णय गरेको छैन ।
आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव मानबहादुर बस्नेतका अनुसार कांग्रेसले बुझाएका कागजात र विवरण अध्ययनकै क्रममा छन् । आयोगले तयार पारेको विधानसम्बन्धी ढाँचा र कांग्रेसले संशोधन गरेको विधानबीच तालमेल भए–नभएको परीक्षण भइरहेको उनले बताएका छन् ।
बीचमा सरकारी बिदा परेका कारण पनि प्रक्रिया केही लम्बिएको आयोगको भनाइ छ । विधानका सबै प्रावधान अध्ययन गरी आयोगले निर्धारण गरेको ढाँचाअनुसार भए–नभएको यकिन गर्नुपर्ने भएकाले समय लागेको बस्नेतले बताएका छन् ।
यता, कांग्रेसभित्र भने महाधिवेशनको वैधानिकता र नेतृत्वलाई लिएर विवाद कायमै छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न महाधिवेशनलाई १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले स्वीकार गरेको छैन ।
देउवा पक्षले उक्त महाधिवेशनलाई अस्वीकार गर्दै समानान्तर रूपमा पार्टीका तल्ला तहका अधिवेशनसमेत सञ्चालन गरिरहेको छ । छुट्टै महाधिवेशन गर्ने तयारीबारे देउवा पक्षले गत असोज १४ गते निर्वाचन आयोगमा दिएको निवेदन आयोगले दर्ता गरिसकेको छ ।
यसरी कांग्रेसको आधिकारिक नेतृत्व र विधानसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको अभिलेखीकरण प्रक्रिया थप चासोको विषय बनेको छ ।








