काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । पर्वका लागि आवश्यक केरा, नरिवल, उखु तथा अन्य पूजासामग्री खरिद गर्न उपभोक्ताको भीड लागेको हो ।
काठमाडौंको कालीमाटी, कुलेश्वरलगायतका बजारमा छठ पूजाका सामग्री किन्नेहरूको घुइँचो देखिन थालेको छ । विशेषगरी केरा, नरिवल, उखु र विभिन्न फलफूलको माग बढेको व्यवसायीहरूले बताएका छन् ।
छठका लागि आवश्यक केरा र नरिवल स्वदेशमै उत्पादन हुने भए पनि उखु तथा केही अन्य फलफूल भारतलगायतका मुलुकबाट आयात हुने गरेका छन् ।
यस पर्वमा प्रयोग गरिने बाँसका ढाकी, कोनिया लगायतका सामग्रीको पनि विशेष महत्त्व छ । बाँसबाट निर्मित सामग्रीमा पूजा सामग्री सजाएर सूर्यलाई अर्घ्य दिने परम्परा रहेकाले यस्ता सामग्रीको मागसमेत बढेको छ । उपभोक्ताहरूले भने पर्व नजिकिएसँगै केही सामग्रीको मूल्य बढेको गुनासो गरेका छन् ।
छठ पर्वको परम्पराअनुसार व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ ।
विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरी क्षेत्रमा पनि उत्साह र भव्यताका साथ मनाउन थालिएको छ ।
आस्था, शुद्धता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले बजारमा चहलपहल बढाउनुका साथै सामाजिक तथा सांस्कृतिक सद्भावको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।








