काठमाडौँ । तिहार बिदापछि एक साताको अन्तरालमा खुलेको धितोपत्र बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अंकले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये १६० वटाको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको मूल्यमा वृद्धि भएको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
शुक्रबार कुल ३३५ स्क्रिप्टको ३१ हजार ३०४ पटक कारोबार भएको छ । यसक्रममा ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
आजको कारोबारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत नाफा कमाएका छन् । यसको विपरीत क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघ्न सकेन ।
समूहगत परिसूचकतर्फ विकास बैंक, होटल, जलविद्युत् र निर्जीवन बिमा समूहमा वृद्धि देखिएको छ । बाँकी समूह भने ओरालो लागेका छन् । सबैभन्दा बढी गिरावट अन्य समूहमा देखिएको छ, जसको परिसूचक ०.९४ प्रतिशतले घटेको छ ।
समग्रमा तिहारपछिको पहिलो कारोबार दिन बजारमा बिक्री चाप बढी देखिँदा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।








