काठमाडौं । विदेशका विभिन्न संग्रहालय तथा स्थानमा पुगेका चोरी भएका नेपाली धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्वदेश फिर्ता ल्याउन काठमाडौं महानगरपालिकाले अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
महानगरले सम्पदाको पहिचान र अभिलेखीकरण, जनचेतना अभिवृद्धि तथा स्थानीय समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्दै संरक्षण अभियानलाई संस्थागत रूपमा अघि बढाउन लागेको हो ।
शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विदेशमा रहेका नेपाली सम्पदा पहिचान गरी आफ्नै स्थानमा फिर्ता ल्याउने प्रयासलाई थप व्यवस्थित बनाइने बताइन् । यसअघि कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशमा रहेका नेपाली समुदायसँगको सहकार्यमा सम्पदा फिर्ता ल्याउने प्रयास हुँदै आएको उनले जानकारी दिइन् ।
डंगोलका अनुसार विदेशका संग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती कुन स्थानबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको छ । त्यसैले सम्पदाको तस्बिर, भिडियो, ऐतिहासिक विवरण तथा अन्य आवश्यक प्रमाण व्यवस्थित रूपमा सुरक्षित राख्नुपर्नेमा उनले जोड दिइन् ।
उनले एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी स्वदेश फिर्ता ल्याउन र पुनःस्थापना गर्न सफल भएको उदाहरणसमेत प्रस्तुत गरिन् ।
त्यस्तै, धार्मिक तथा सांस्कृतिक सम्पदा हराएमा तत्काल प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यास विकास गर्नुपर्ने उनले बताइन् । विगतमा तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिँदा आवश्यक कागजात जुटाउन कठिन भएको उदाहरण दिँदै उनले सम्पदा चोरी भएलगत्तै प्रहरीलाई जानकारी गराउने विषयमा जनचेतना फैलाउनुपर्ने बताइन् ।
महानगरले सम्पदा संरक्षण अभियानलाई जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरी नगर प्रहरी, गुठी, संघसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म विस्तार गर्ने योजना बनाएको छ ।
सम्पदा संरक्षणका क्रममा प्राविधिक ज्ञानको अभावले पनि क्षति पुग्न सक्ने भएकाले फिल्डमा खटिने कर्मचारीलाई विशेष तालिम दिइने डंगोलले बताइन् । कुन सम्पदामा कस्तो रङ प्रयोग गर्ने, कहाँ चुनाको प्रयोग गर्ने तथा चैत्यलगायत धार्मिक संरचनाको मौलिक स्वरूप कसरी जोगाउने भन्ने विषयमा आवश्यक ज्ञान प्रदान गरिनेछ ।
उनले सम्पदा संरक्षणमा सीसीटीभी क्यामेरा मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय समुदायको सक्रियता र अपनत्वलाई सबैभन्दा महत्त्वपूर्ण मानेकी छन् । यसका लागि प्राविधिक विज्ञ तथा सम्पदा संरक्षणमा क्रियाशील संस्थासँग सहकार्य गरी समुदायको क्षमता अभिवृद्धि गरिने महानगरको तयारी छ ।
यस अभियानमा नगर प्रहरीको भूमिका पनि विस्तार गरिने भएको छ । यसअघि सुरु गरिएको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप प्रभावकारी बनाउँदै सम्पदाको सुरक्षा, निगरानी र संरक्षणमा परिचालन गरिने डंगोलले जानकारी दिइन् ।
महानगरपालिकाका अनुसार अभियानको मुख्य उद्देश्य चोरी भएका सम्पदाको पहिचान, अवैध ओसारपसार नियन्त्रण, अन्तर्राष्ट्रिय सहकार्यबाट स्वदेश फिर्ती तथा मौलिक स्थानमा पुनःस्थापना गर्नु हो ।
नीति र सम्झौतामा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन गर्ने लक्ष्यसहित महानगरले सम्पदा संरक्षण अभियानलाई चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ ।








