काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २४औँ खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
१२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । यससँगै काठमाडौंले महत्त्वपूर्ण खेलमा हार बेहोर्नुपरेको छ ।
काठमाडौंका लागि रासिद खानले सर्वाधिक ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । ओपनर साम ह्याज्लेटले ११ र सन्तोष यादवले १० रन बनाए ।
त्यस्तै, दुसान हेमन्थाले २१ रन जोड्दा करण केसी ८ रनमा आउट भए । भीम सार्की र सहान जयसूर्या खाता नै नखोली पेभेलियन फर्किए । सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १ विकेट हात पारे ।
त्यसअघि सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६० रन बनाए । ५४ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
सुरुवातमै शीर्ष क्रमका ब्याटर गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्र र आरिफ शेखले महत्त्वपूर्ण साझेदारीमार्फत सम्हालेका थिए । आरिफले १६ रन बनाए । थारिन्दु रत्नायके २६ तथा फाबियन एलन २ रनमा अविजित रहे ।
काठमाडौंका बलर जहानदाद खानले सर्वाधिक ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे ।
यस जितसँगै सुदूरपश्चिमले प्लेअफ यात्रालाई सुरक्षित बनाएको छ । उता काठमाडौं गोर्खाजले भने लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।








