काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ ।
शनिबार बिहान ९ बजे बूढानीलकण्ठस्थित लामिछानेको निवासमा भ्रमण टोलीले उनीसँग भेटवार्ता गर्ने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन् ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार १० दिने भ्रमणका लागि चीन प्रस्थान गर्ने तयारीमा छ । यसअघि टोलीले शुक्रबार संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि छलफल गरेको थियो ।
उक्त भेटमा प्रधानमन्त्री शाहले चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित गर्न निर्देशन दिएका थिए ।
उपनेता पराजुलीका अनुसार भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुनेछ । साथै, दुवै देशका अनुभव आदानप्रदानलाई पनि प्राथमिकता दिइनेछ ।
भ्रमण टोलीमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन् ।








