काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने सोच वर्तमान सरकारमा नदेखिएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय तथा राजनीतिक दलहरूसँग संवाद र छलफल गर्दै राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनुपर्ने भए पनि सरकार त्यसतर्फ उदासीन देखिएको बताए ।
सरकार जनताका प्रश्नको जवाफ दिनसमेत तयार नरहेको उनको टिप्पणी थियो । सरकारको प्रमुख दायित्व जनतालाई परिणाममुखी सेवा प्रदान गर्नु भए पनि त्यसमा वर्तमान सरकार कमजोर देखिएको उनले आरोप लगाए ।
यसअघिका सरकारहरूले प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्ने अभ्यास गरेको स्मरण गर्दै पौडेलले वर्तमान सरकारमा त्यस्तो राजनीतिक परिपक्वता नदेखिएको बताए ।
उनले पछिल्लो समय आलोचना र असहमतिलाई गालीगलौज तथा विरोधका रूपमा लिने प्रवृत्ति बढ्दै गएको भन्दै यसले समाजमा असहिष्णुता बढाउने चिन्तासमेत व्यक्त गरे ।








