काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका दुवै टोलीको लक्ष्य पहिलो क्वालिफायर जित्दै सिधै फाइनलमा स्थान सुरक्षित गर्नु रहेको छ।
लुम्बिनी लायन्सले लिग चरणमा पाँच खेलमा जित, एक खेलमा हार र वर्षाका कारण एक खेल रद्द हुँदा ११ अंक जोड्दै पहिलो स्थान हासिल गरेको थियो। त्यस्तै, सुदूरपश्चिम रोयल्सले पाँच खेलमा जित र दुई खेलमा हार बेहोर्दै १० अंकसहित दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको हो।
आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।








