गोरखा । बुढीगण्डकीमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् र सञ्चार सेवा झण्डै डेढ महिनापछि गोरखाको धार्चे गाउँपालिकाका प्रभावित बस्तीमा सुचारु भएको छ।
धार्चे गाउँपालिका–१ र ३ का करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको हो। विद्युत् आपूर्ति पुनः सुरु भएसँगै नेपाल टेलिकमको टावरसमेत सञ्चालनमा आएपछि स्थानीयले सञ्चार सेवा पाएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास–उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि धार्चेको उहिया क्षेत्रसहित आसपासका बस्तीमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो।
उत्तरी गोरखाका बस्तीमा विद्युत् सेवा उपलब्ध गराउँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा विद्युत् पुनः सञ्चालन गरिएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए।
उनका अनुसार उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् जडान भएपछि उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकलगायतका बस्तीमा सञ्चार सेवा सुचारु भएको छ।
गत असोज २५ गते आएको बाढीपछि धार्चेका वडा नं. १, २ र ३ का विभिन्न बस्तीमा सञ्चार सम्पर्क विच्छेद भएको थियो। फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिक जनजीवनसँगै वडा कार्यालयका कामकाज, स्वास्थ्य सेवा र अन्य प्रशासनिक गतिविधिसमेत प्रभावित बनेका थिए।
सञ्चार सेवा बन्द हुँदा स्थानीयले फोन चार्ज गर्न विद्यालय तथा स्वास्थ्य चौकीका सोलारमा निर्भर हुनुपरेको थियो भने फोन सम्पर्क गर्न अग्ला डाँडामा पुग्नुपर्ने बाध्यता थियो।
लामो समयपछि विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।








