सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा भएको माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा घाइते भएका १४ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन्। बाँकी सात जनाको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने अन्य पाँच जनाको विवरण संकलन भइरहेको छ।








