सर्लाही । सामाजिक सञ्जालमार्फत प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन गर्दै आएको फेसबुक पेजमार्फत भ्रामक सूचना सार्वजनिक गरेका थिए।

उनीहरूले प्रहरीले पक्राउ नगरेको व्यक्तिलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा गलत सूचना फैलाएको प्रहरीको आरोप छ। यस्तो गतिविधिले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अन्योल उत्पन्न गराएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै अपुष्ट तथा भ्रामक सूचनाले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र नागरिकको सूचनाको हकमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

उनले प्रहरीसँग सम्बन्धित घटना, पक्राउ, अनुसन्धान तथा कारबाहीबारे आधिकारिक जानकारी प्राप्त नगरी मिथ्या वा अपुष्ट सूचना प्रकाशन, प्रसारण तथा शेयर नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय