काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाइन्ट लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सङ्गठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भिडियोमा देखिएका व्यक्ति सङ्गठनका सदस्य नभएको स्पष्ट पारेको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिअनुसार ती व्यक्तिले सशस्त्र प्रहरी बलको कम्ब्याट पोसाकको आधा भाग प्रयोग गरी सङ्गठनको पोसाक दुरुपयोग गरेका हुन्।

उक्त व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी सामाजिक सञ्जालमा विभिन्न भ्रामक सामग्री र टिप्पणी सार्वजनिक हुँदा आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने सङ्गठनको भनाइ छ।

सङ्गठनको पोसाक दुरुपयोग गर्ने व्यक्ति तथा उक्त गतिविधिको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

साथै, उक्त भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न र यस्ता भ्रामक सामग्रीको पछि नलाग्न सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सङ्गठनले आग्रह गरेको छ।

असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरीको पोसाक, दर्ज्यानी चिह्न वा सङ्गठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि अनुरोध गरिएको छ। त्यस्ता गतिविधिबारे जानकारी भएमा सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ मा सूचना दिनसमेत आग्रह गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय