काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन्।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी चन्द्रागिरि हिल्सलगायत पर्यटन पूर्वाधार तथा होटल क्षेत्रमा लगानी र प्रवर्द्धन गर्दै आएका छन्।

नवनियुक्त संयोजक ढकालले दक्षिण एसियामा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

सगरमाथादेखि हिन्द महासागरका टापु, समुद्री तट, वनजंगल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदासम्मको विविधताले दक्षिण एसियालाई विशिष्ट पर्यटकीय क्षेत्र बनाएको उनको भनाइ छ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएकाले यसको सम्भावना उपयोग गर्न पर्यटन पूर्वाधारमा लगानी विस्तार र स्तरोन्नति आवश्यक रहेको उनले बताएका छन्।

ढकालले सार्क राष्ट्रका होटल तथा आतिथ्य क्षेत्रका ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। यसबाट पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानसमेत बढ्ने उनको विश्वास छ।

त्यस्तै, ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित क्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ। विभिन्न देशका पर्यटकीय गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय र साहसिक पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताएका छन्।

क्षेत्रीय पर्यटन विकासका लागि सहज हवाई तथा स्थलमार्गको सम्पर्क विस्तारलाई पनि उनले प्राथमिकतामा राखेका छन्। सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई सम्पर्क बढाउनुका साथै नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय गन्तव्यसँग जोड्न सके पर्यटक तथा लगानीकर्ताको आवागमन सहज हुने उनको भनाइ छ।

दक्षिण एसियाको साझा पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले नीतिगत समन्वय तथा व्यावसायिक साझेदारीमा सार्क चेम्बरले प्रभावकारी भूमिका खेल्न सक्ने बताएका छन्।

उनले क्षेत्रीय पर्यटन प्रवर्द्धन र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय